कर्णाली प्रदेशकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुँदै

सुर्खेत, २ चैत (जागरण)।
कर्णाली प्रदेशमा निजि क्षेत्रबाट आयोजना गरिएको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।
चुलि युवा क्लव सुर्खेतले यही चैत ११ गतेदेखि प्रथम चुली कप पुरुष भलिवल प्रतियोगिताको आयोजना गरेको हो । क्लबले आज पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिताको विजेतालाई दुई लाख, द्धित्तीय साढे एक लाख, तृतीय एक लाख र सान्त्ववना पचास हजार पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार वेस्ट प्लेयर १५ हजार, वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, बेस्ट डिफेन्डर, वेस्ट सर्भर र वेस्ट कोचरलाई जनही सात हजार पाँच सयका दरले पुरस्कार दिइनेछ । प्रतियोगितामा देशैभरका क्लबहरु सहभागी हुन पाउने तर राष्ट्रिय टिममा रहेका खेलाडीहरु भने समावेश गर्न नपाइने अध्यक्ष जिसीले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुनका लागि यही चैत दश गतेसम्म टिम दर्ता गर्न सकिने क्लवका सचिव कृष्ण जिसीले जानकार दिनुभयो । प्रतियोगिता निजी क्षेत्र र व्यवसायीहरुबाट प्रायोजक राखेर सञ्चालन गर्न लागिएको रेफ्रि संयोजक अम्मरबहादुर चन्दले बताउनुभयो । चन्दका अनुसार खेल लिक कम नकआउट नियम अनुसार सञ्चालनहुनेछ ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले सरकारी तवरबाट प्रतियोगिता आयोजना गर्न नसकिरहेको अवस्थामा क्लवले गरेको प्रतियोगिताले खेलकुदमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले प्रतियोगिता सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।