कर्णाली प्रदेशमा ७६ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

नन्द कठायत ।
सुर्खेत, ३ चैत (फागुन) । कर्णाली प्रदेशमा हालसम्म ७६ हजार जनाले कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक लाख ७ हजार ६ सय ६० जनालाई ‘कोभिशिल्ड’ खोप लगाउने लक्ष्य भएपनि हालसम्म ७६ हजार ३ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
कर्णालीमा माघ १४ गतेदेखि प्रदेशका १८ वटा खोप केन्द्रबाट सबै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको थियो ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले ७० प्रतिशत कभरेज भएको भन्दै खोप अभियान सफल भएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
प्रदेशमा ६२ वर्ष भन्दा बढी उमेर समुहका लक्षित वर्गलाई खोप केन्द्रीत गरिएको सुर्खेतमा सबैभन्दा बढी अर्थात् १९ हजार ७ सय ४५ जनाले खोप लगाएको निर्देशक डाक्टर खड्काले बताउनुभयो ।
उहाँका अनुसार दैलेखका १२ हजार ७ सय ७२, जाजरकोटका ६ हजार ४ सय ५५, सल्यानका नौ हजार ५ सय ५६ र रुकुम पश्चिमका ७ हजार ५७ जनाले खोप लगाएका छन् ।
त्यस्तै जुम्लाका ६ हजार ३१, कालिकोटका ६ हजार ४ सय ११, हुम्लाका २ हजार ८ सय ३३, मुगुका ३ हजार एक सय ४१ र डोल्पाका दुई हजार ३ सय ७३ जनाले खोप लगाएका छन् ।
अहिले खोप जारी रहेकाले डोल्पाको माथिल्लो भेगका नागरिक तल्लो भेगमा सर्ने क्रममा रहेकाले खोप भोली सम्म लागाइने उहाको भनाई छ ।
हिजो जाजरकोटमा कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको सन्र्दभमा भने अहिले परिवार महाशाखाले त्यसको प्रारम्भिक अध्यन गरिरहेको डाक्टर खड्काले बताउनुभयो ।