काममा ध्यान नदिएको भन्दै सचिवको सरुवा

सुर्खेत, ३ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले सचिव लोकनाथ पौडेललाई आवश्यक सहयोग नगरेको भन्दै फिर्ता पठाएको छ ।
आठ महिनामा सिन्को समेत नभाँचको भन्दै सचिव पौडेललाई फिर्ता गर्न मुख्यमन्त्रीलाई सामाजिक विकास मन्त्री दल रावलले पत्र लेख्नुभएको थियो ।
उक्त पत्रका आधारमा मुख्यमन्त्रीले संघीय सरकारसंग समन्वयगरी सचिव पौडेललाई फिर्ता पठाउनुभएको छ ।
पौडेल सामाजिक विकास मन्त्रालयमा गत साउन १६ गते सरुवा भएर आउनु भएको थियो । उहाँको हिजो आइतबार लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।
सचिव पौडेलले मन्त्रालयको काम नगरेर व्यक्तिगत कामलाई मात्र प्राथमिकता दिएको भन्दै सामाजिक विकास मन्त्री रावलले फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेख्नुभएको थियो ।
सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेको मन्त्रीले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै कामहरु अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताएउनुभयो ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३.२३ प्रतिशत मात्रै छ ।
मन्त्रालयसँग रहेको पुँजीगत तर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजार मध्ये चार करोड ५९ लाख ३० हजार १५१ रुपैयाँ मात्रै खर्च भएको छ ।
कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका कामहरु सचिवकै कारण सुरु हुँन नसकेको मन्त्रालयका एक कर्मचारीले बताउनुभयो ।
सामाजिक विकास मन्त्री रावलले कर्मचारी अभावले विकास खर्च सोचे अनुरुप गर्न नसकेको अवस्थामा भएका कर्मचारीहरुले पनि चित्त लगाएर काम नगरे समस्या हुने भन्दै सचिवको सरुवा गरिएको कर्णाली रैबारलाई बताउनुभयो ।
केही कर्मचारीहरुले रात दिन खटेर काम गरेको भएपनि काम केही कर्मचारीहरुले मन लगाएर काम नगर्दा समस्या भएको मन्त्री रावलको भनाइ छ ।