होम स्टे एशोसिएसनको तेश्रो राष्ट्रि कार्यशाला गोष्टीबाट ७ बुँदे सुर्खेत घोषणापत्र जारी

सुर्खेत, ३ चैत (जागरण) । होम स्टे एशोसिएसन नेपालको तेश्रो राष्ट्रि कार्यशाला गोष्टीले ७ बुँदे सुर्खेत घोषणापत्र जारी गरेको छ ।
तिन दिनसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको कार्यशाला गोष्टीले ७ बुँदे घोषणापत्र जारी गरेको हो ।
आफ्नो घोषणापत्रमा सातै प्रदेशमा सिघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने, होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहितका लागि आवश्यक मापदण्ड तय गर्ने, होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसंग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसंग माग गर्ने उल्लेख गरिएको छ ।
यस्तै, कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने, डिजिटल मार्केटिङ्गको माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यक कार्यहरु अगाडी बढाउने घोषणापत्रमा लेखिएको छ ।
यसैगरी, देशभर संचालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरुपताका साथ संचालन गर्न पहल गर्ने घोषणापत्रमा जनाइएको छ ।
कार्यशाला गोष्टीमा देशभरका होम स्टे संचालकका प्रतिनिधिहरु सहभागी भएका थिए ।