युवाहरुलाई रोजगारी दिन प्रत्येक टोलमा एउटा उद्योग स्थापना गर्दै छौः अध्यक्ष चौलागाईँ

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो कालिकोट । कालिकोट शुभकालिका गाउँपालिकामा २९८१ घरधुरी, कुल जनसंख्या १७९२० रहेको छ । सक्रिय उमेरका ४२ प्रतिशत युवाहरु मध्ये ५५ प्रतिशत रोजगारीको लागि भारत लगायत अन्य खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् । शुभकालीका गाउँपालिका जल जंगल, खनिज, जडीबुटी, वन्यजन्तु, पशुपालन, अन्नबाली, फलफुल र ठुलो मानविय श्रोत भएको गाऊँ पालिका हो । यी कुराहरुको संरक्षण र उपयोग गर्न सकिएमा गाउँपालिकाको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने देखिन्छ । जलश्रोतको उचित उपयोगले यो गाऊँपालिका पुर्ण रुपले प्रकासमय हुनेछ भने विभिन्न प्रकारका पर्यटकिय क्षेत्रले गर्दा आयआर्जनमा बृद्धि हुन सक्छ । यो गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा सिंजा गाउँपालिकामा के कस्ता विकास निर्माण र परिवर्तन भए त ? जनताको अपेक्षाअनुसार काम भए त ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले कालिकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश ।

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

म अहिले जनताकै काममा व्यवस्त छु । गाउँपालिकाको कामको लागि काठमाडौं गएर भ्रखरै आएँ । कोरोनाका कारणले गर्दा रोकिएका कामहरु संचालनका लागि दौडधुप गरिरहेको छु । अहिले हाम्रो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ल्याउन सकिन्छ की भनेर काठमाडौं गएको थिए । समग्रमा जनताकै काममा व्यस्त छु ।

तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन भयो त ?

स्थानीय निर्वाचनपछि हामी निर्वाचित भएर आयौँ । त्यसपछि हाम्रो पहिलो प्रथामीकता भनेको जनताको समस्या के हो ? भनेर पहिँचानमै केन्द्रीत रह्यौ । पहिलो एजेण्डाको रुपमा हामीले चुनावको बेला प्रतिवद्धता गरेको भनेको सबै जनतालाई पैदल हिड्पर्ने बाध्यता हटाउँछौ भन्ने थियो । सेरीघाट खोलासम्म मात्र बाटो बनेको थियो । अहिले ६ वटा वडासम्म सडक संजाल पुगेको छ भने आगामी असार मसान्तसम्म अन्य २ वटा वडालाई पनि सडक सञ्जालमा जोड्छौ । र सबै वडामा गाडी सहज रुपमा गुड्ने सडक निर्माण गराउँछौ । दोश्रोमा जनतासँग प्रतिवद्धता गरेअनुसार सबै जनताको घरमा विद्युत बाल्ने थियो । करौँडौ लगानी भएको तर अलपत्र रहेको विद्युत विस्तारको कामलाई निरन्तरता दिइरहेका छौ । अब बैशाख महिनाभित्र अधिकांस नागरिकको घरमा विद्युत बल्छ । तेश्रोमा संचार सेवा पुर्याउने प्रतिवद्धता थियो । शुभकालिका गाउँपालिकामा रुखमा चढेर फोन गर्नुपर्ने अवस्था थियो । त्यसको अन्त्य भएको छ ।
त्यसका सँगसँगै शिक्षा क्षेत्रमा सुधार आएको छ । भने स्वास्थ्यको पहुँचमा जनतालई पुर्याउन प्रत्येक वडामा स्वास्थ्य इकाई बनाइएको छ । डाक्टरहरुको अभाव पनि केही हतसम्म हटाइएको छ । योसँगै बालबालिकाहरुलाई कुपोषित हुन नदिन पोषण सुधारका काम पनि गरेका छौ ।

पछाडी पारिएको बर्ग र समुदायको क्षेत्रमा के काम गर्नुभएको छ ?

कालिकोट जिल्लामै सबैभन्दा पछाडी पारिएको भनिएको दलित र जनजाती हो । उहाँहरुको लागि सिपमुलक तालिमसँगै स्वरोजगारमा लगाउने खालका कार्यक्रम बनाएर संङ्लग्न गराएका छौ । त्यतीमात्र नभएर सबैको घरमा पालिकाकै बजेटले सोलार राखिदिएका छौ । किनभने उनिहरुका बालबालिकालाई पढ्न सहज होस भन्नको लागि । अनि कालिकोटको जनजाती भएको एउटा मात्र पालिका भनेको शुभकालिका गाउँपालिका हो । जनतजातीहरुलाई पनि अन्य व्यक्तीहरुसरह ल्याउन विभिन्न कार्यक्रमहरु बनाइएको छ । यसका साथै महिला, बालबालिका र दलित समुदाय पछाडी परेको अवस्था छ । उनीहरुलाई अगाडी ल्याउन लक्षित कार्यक्रमहरु संचालन गरिएको छ ।

गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?

साच्चिकै भन्ने हो भने शुभकालिका गाउँवपालिका कृषि, पर्यटन र पशुपालन नै समृद्धिका आधारहरु हुन । पालिकाको तल्लो भेगमा केरा, सुन्तला र आँप फल्ने ठाउँ छ भने माथिल्लो भागमा भने ओख्खर र स्याउ उत्पादको लागि उपयुक्त छ । विशेषगरी गाउँपालिकाले फलफुल नेतीलाई नै प्राथामीकता दिएका छौ । त्यही अन्तरगत हामीले एक किसन एक सय बिरुवाको नारा नै बनाएर कार्यक्रम बनाएका छौ । दुइ बर्षभित्र फल्ने एक हजार ओख्खर वितरण गरेका छौ । अनिलकती मकै, अकिती कोदो लगाएर फाइदा हुँदैन भनेर पूर्ण व्यवसाकियक बनाउँदै छौ । त्यसका अलवा यहाँ पर्यटनका सम्भावनाहरु पनि धेरै छन । त्यसको अध्यन पनि गरिरहेका छौ । प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर हामी काम गर्दै छौ । यहाँको पर्यटन विकासका लागि विभिन्न कामहरु कामहरु अहिले पनि भइरहेका छन तर बजेट भने पुग्दो रहेन्छ ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

सबैभन्दा ठुलो चुनौती भनेको हामीलाई कानुनको भयो । हामीले बनाउनुपर्ने कानु पनि प्रदेश र संघिय सरकारका कानुन बमोजिम बनाउनुपर्ने पहिले हामी निर्वाचित भयौँ । अनि पछि प्रदेश र संघ सरकारका प्रतिनिधि । संघ र प्रदेशले कानुन बनाउँदा ढिलो गर्दा हामीलाई समस्या भयो । जे काम गर्दा पनि कानुन र कार्यविधि चाहिने रहेछ । त्यसका साथै अर्को चुनौती भनेको कर्मचारी अभाव हो । अहिले पनि हाम्रो गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैन् । म काठमाडौं गएर १५ दिन बसेर आएँ । प्रमुख प्रशासकीय अधिकृत ल्याउन सकिन । आउन नै मान्दैनन । जसले गर्दा आर्थिक काम त ठप्प रह्यो । भौगोलिक कठिनाई पनि अर्को चुनौती छ ।

गाउँपालिकामा मुख्य समस्या के छन् ?

तपाईँलाई भन्नुपर्दा सबैभन्दा ठुलो समस्या भनेको जनताका आवश्यकता धेरै छन । तर बजेट हामीसँग छैन । सबै बजेटको जोड्ने हो भने ३५ करोड भन्ने हुन्छ । तर विकासको लागि भनेको ५÷६ करोड हुन्छ । यो बजेटले सबै क्षेत्रको विकास र समस्या समाधान गर्न सकिदो रहेन्छ । अर्को कुरा भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले हुँदैन । त्यसैले सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव नै हो । अनि काम गर्ने शिलशिलामा राजनितिक ढङ्गले गरिने क्रियाकलाप पनि एउटा समस्या छ ।
संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?
संघ सरकार र प्रदेश सरकारसँग त मेरो नियमित सम्पर्क समन्वय भइरहन्छ । शुरुदेखि नै मैले तिनै तहका सरकारहरु समन्वयात्मक ढङ्गले अगाडी बढ्न सकेन भने विकास हुन सक्दैन भनेर । पालिकामा नै बैठक बसालेर प्रदेश र संघका मन्त्रीहरुलाई बोलाएर यी यी समस्या छन । समाधानमा सहयोग गर्नुपर्यो भनेर भनिरहेको छु ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?
हामीले युवाहरुलाई फलफुल खेती र औद्योगिक ग्रामको रुपमा अगाडी बढाएर रोजगारी सृजना गर्ने गरी कार्यक्रम गरिरहेका छौ । एउटा टोल एउटा उद्योगको अवधाराणा लिएर हामी अगाडी बढीरहेका छौ । अघि मैले भनेनी एक कृषक एक सय बिरुवा भनेर पनि कार्यक्रम बनाएका छौ । एकातिर वातावरण हराभरा हुन्छ भने अर्कोतर्फ कृषक व्यवसायिक बन्छ । अहिले पनि एउटा अल्लो उद्योग छ । त्यसलाई स्तरउन्नती गरेर युवाहरुलाई त्यहाँ लगाउने । केही समयमभित्रै साबुन उत्पादन गर्नेगरी काम गरिरहेका छौ । त्यहाँ पनि युवाहरुलाई रोजगारी दिने तयारी गरेका छौ । बाख्रा पाल्ने र भैसी पाल्ने व्यक्तीलाई प्रोत्साहनको कार्यक्रम पनि छ । हाम्रो कार्यकाल सकिने बेलासम्म हामी प्रत्येक व्यक्तीलाई स्वरोजगार बनाउन चाहान्छौ ।