नेपाल दक्षिण एसियाकै खुशी देश घोषित

काठमाडौं, ८ चैत (जागरण) । नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।
सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो ।
सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको थियो ।
कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।
रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ ।
सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ । छिमेकी देश भारत १ सय ४४ औँ स्थानमा छ । नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल छ ।