दलितभित्रै विभेद

कालि बहादुर नेपाली ।
जाजरकोट, १० चैत (जागरण) । जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयले आफू आफूबीचमा नै विभेद हुने गरेको बताएका छन ।
विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको हो ।
बारेकोट गाउँपालिकाको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ, सक्ला, नलगाडको भगवती,रग्दा पश्चिमी जाजरकोटका तीन स्थानीय तहका अधिकांश वडाहरुमा यस्तो समस्या देखिएको हो । सदरमुकाम खलंगा क्षेत्र भित्र नै यस्तो समस्या रहेको छ ।
दलित भित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको पाइएको छ ।
दलितभित्र नै विभेद रहेका कारण छुवाछूत प्रथा हट्न निकै मुस्किल भएको बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले बताउनुभयो ।
युवाहरुले यो विभेदलाई हटाउन खोजे पनि सवै युवा शिक्षित नहुनु, पाका उमेरका मानिस पुरानो संस्कार छाड्न नमान्नु विभेद नहट्ने समस्या भएको उनको भनाई छ ।
५६ औँ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा जिल्लामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा दलित भित्रको विभेद पहिले तोड्नुपर्ने बताइएको छ ।