दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि पूर्वाधार अभाव

सुर्खेत, ११ चैत (जागरण) । संघीय सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने तयारी गरेको छ । सोही अनुसार चालु आर्थिक बर्षमा १५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटबाट सुर्खेतमा प्रदेशस्तरीय रंगशाला, हुम्लामा हाई अल्टिच्युड रंगशाला, जुम्लामा हाई अल्टिच्युड तालिम केन्द्र र प्रदेशका सबै जिल्लामा आवश्यक पूर्वाधारहरु निर्माण गर्नुपर्ने छ ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली पूर्वाधारको अभाव छ ।
पूर्वाधार अभावकै कारण हालसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको छैन ।
कर्णालीमा क्रिकेट, भलिवल र फुटबल जस्ता प्रख्यात खेलहरुको राष्ट्रिय प्रतियोगिता गर्न सम्भव छैन । पूर्वाधार अभावकै कारण प्रदेशस्तरिय प्रतियोगिताहरु धुलो र हिलोमा गर्नुपर्ने बाध्यता छ । तर बर्षौैैपछि खेलकुद्को क्षेत्रमा छुट्याइएको बजेट पनि कार्यान्वयमा भने कर्णाली प्रदेश चुक्ने देखिएको छ ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लक्षित गर्दै पूर्वाधार निर्माणको लागि छुट्याइएको बजेट चालु आर्थिक वर्ष आठ महिना बितिसक्दा पनि कार्यान्वयनको चरणमा पुगेको छैन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्ला तथा पालिकाहरुमा पठाएको कुनै पनि बजेट कार्यान्वयनको चरणमा गएको छैन ।
आधा बजेट जिल्लाको सामाजिक विकास कार्यालयमा अड्कीएको छ । झण्डै सात करोड बजेट अहिलेसम्म मन्त्रालयबाट निकासा समेत भएको छैन । आठ महिना बितिसक्दा पनि बजेट कार्यान्वयनको चरणमा नजाँदा कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न चुनौतिपूर्ण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका प्रमुख जवाहरलाल हमाल भने बजेट कार्यान्वयन नगर्नुको दोष स्थानीय पालिकाहरुलाई लगाउनुभएको छ ।