कर्णालीमा क्वारेन्टीन र आइसुलेसन पुन संचालनमा ल्याउने तयारी

टेकराज केसी ।
सुर्खेत, ११ चैत (जागरण) । कोरोना संक्रमणको जोखिम बढ्ेपछि कर्णालीमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
सिमा नाकामा कडाई गर्नेदेखि पुन क्वारेन्टीन र आइसुलेसन संचालनमा ल्याउने तयारी थालिएको हो ।
छिमेकी देश भारतमा संक्रमण दर उच्च भएपछि कर्णालीमा पनि सतर्कता अपनाउन लागिएको हो ।
यसअघि सञ्चालन गरिएको क्वारेन्टाइन र आइसोलेसनहरु सञ्चालन गर्ने तयारी गरिएको जिल्ला कोरोना व्यवस्थापन तथा नियन्त्रण समितिहरुले जनाएका छन ।
समितिहरुले नागरिकहरुलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन ।
यस सम्बन्धी अधिकांस जिल्लाका कोरोना व्यवस्थापन तथा नियन्त्रण समितिले निर्णय नै गरिसकेका छन ।
सुर्खेत जिल्ला प्रशासन कार्यालय अन्तरगत कोरोना व्यवस्थापन तथा नियन्त्रण समितिको बैठकले भिडभाड गरेर होली खेल्न नपाउइने, संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने, लगायतका निर्णय गरिसकेको छ ।
सीमा नाकाबाट आउनेहरुको अभिलेख राख्ने, स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउने, कोरोना संक्रमण हुन नदिन चेतनामुलक सन्देशहरु प्रचार÷प्रसारण मास्क तथा सेनिटाइजहरुको अनिवार्य प्रयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले पनि स्थानीय तहहरुसँग मिलेर विदेशबाट आएकाहरुलाई होम आइसुलेसनमा राख्नेगरी तयारी गरिएको बताउनुभयो ।
उहाले जिल्लाको गुराँस गाउँपालिकामा कोरोना जाँच गर्न शुरु गरिएको जानकारी दिनुभयो ।
संक्रमणको जोखिमको दरलाई ध्यान दिने भन्दै सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईँको अध्यक्षता आज बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले बाहिरबाट आउने नागरिकहरुको लागि क्वारेन्टीन र आइसुलेसन गराउने निर्णय गरेको छ ।
यस सम्बन्धी जानकारी नेपाल सरकारलाई जानकारी पठाइएको प्रमुख जिल्ला अधिकारी हुमागाईले जानकारी दिनुभयो ।