कर्णाली करिडोरको काम अन्तिम चरणमा

सुर्खेत, ११ चैत (जागरण) । कर्णालीका धेरै नागरिकहरुलाई सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरको काम अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले कर्णाली कोरिडोरको प्रगतिबारे अवलोकन भ्रमणपछि यसबारे जानकारी गराउनुभएको छ ।
कर्णाली करिडोर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै इन्जिनियर थपलियाले जुम्ला सदरमुकाममा पनि इतिहासमै पहिलो पटक १० मिटर चौडा सडक कालोपत्रे भएको बताउनुभयो ।
सरकारले केही वर्ष अघि कर्णाली कोरिडोरको परिकल्पना सहित यसलाई अघि बढाएको थियो । तर, राजनीतिक अस्थिरता तथा नेतृत्वको अकर्मण्यताका कारण यो सडक निर्माण निकै अघि भइसक्नु पर्नेमा अझै सम्पन्न भएको छैन ।
अब भने यो करिडोरको काम छिट्टै सम्पन्न हुन लागेको थपलियाले जानकारी दिनुभयो । यो सडक निर्माण भएपछि हुम्ला पनि राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।