नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पुरा

काठमाण्डौं, १९ जेठ (जागरण) । नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष पुरा भएको छ ।
२०५८ जेठ १९ गते राती तत्कालिन राजा विरेन्द्र शाहको बंशनास हुनेगरी हत्याकाण्ड मच्चाइएको थियो । सो क्रममा बीरेन्द्र सहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । आफुले रोजेकी युवतीसंग बिबाह गर्न नपाएको झोकमा तत्कालिन युवराज दिपेन्द्रले सबैको हत्या गरेको बताइएको छ । यद्यपी स्वतन्त्र ढंगले घटनाको छानविन हुन नसकेकाले आम जनतामा भने हत्याबारे अनेकौ आशंका कायमै छन् ।
बीरेन्द्रको बंशनास भएपछि राजा बनेका ज्ञानेन्द्र शाहले पछि राज्यसत्ता हातमा लिएका थिए । १९ दिने जनआन्दोलनपछि २०६३ सालको सुरुवातमा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भएका थिए ।