गोविन्द खत्री ।
सुर्खेत, १३ चैत (जागरण) । कर्णाली प्रदेशमा छोरीहरुलाई विद्यालय पठाउन र विद्यालयमा टिकाउनका लागि विशेष योजना बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
शिक्षा क्षेत्रमा क्रियाशिल सरोकारवालाहरुबीच आज सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सहभागीहरुले कर्णालीको शैक्षिक सुधारका लागि सरकारी र गैरसरकारी निकायहरु हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेशसभा अन्तरर्गत सामाजिक विकास समितिका सभापति देवि ओलीले आर्थिक र सामाजिक कारणले कर्णालीका छोरीहरु स्कूल गएपनि पढाइ पूरा गर्न नपाउने अवस्था रहेको भन्दै अब सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।
त्यस्तै कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा सबै बर्गको सहज पहुँच स्थापिन गर्ने गरी प्रदेशले शिक्षाका प्रदेश योजना बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै गाउँपालिका महासंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष एवं सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले शिक्षाको सुधारका लागि एकले अर्कालाई आलोचना गर्नुभन्दा पनि सर्वपक्षिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दिपा हमालले कर्णालीमा अझै पनि छोरीहरु पढाई पूरा नगरी बिचैमा छोड्न्पर्ने विभिन्न बाध्यता रहेको भन्दै यसको सुधारका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ को प्रदेशस्तरीय सिकाइ आदान–प्रदान कार्यक्रमका लागि भिएसओको सहयोगमा शिक्षा पत्रकार समाजले कार्यक्रमको आयोजना गरेको थियो । यसबैबीच शिक्षा क्षेत्रका सरोकारवालाहरुले भीएसओ नेपालले सुर्खेतमा सुरु गरेका बहिनी शिक्षाका लागि दिदी कार्यक्रम निरन्तरताको माग गरेका छन् ।