मुख्यमन्त्री शाहीको निर्देशनः ढिला नगरी बजेट कार्यान्वयनमा लाग्नुहोस

सुर्खेत, १३ चैत (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा ढिला नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा गोष्ठीमा शाहीले तत्काल बजेट कार्यान्वयनमा जोड दिनुभएको हो ।
मुख्यमन्त्री शाहीले अब बजेट कार्यान्वयनमा यो समस्या भयो, त्यो भयो भनेर बस्ने अवस्था नरहेको बताउनुभयो ।
साँच्चिकै समस्या आएको खण्डमा आफ्कहाँ ल्याउन मन्त्री र सचिवलाई आग्रह गर्नुभएको छ ।
क्याविनेटको बैठक बसेर ती समस्या फुकाउन आफुहरु तयार रहेको तर यो वा त्यो बहानामा काम गर्न ढिला गर्ने चलन अब स्वीकार्य नहुने बताउनुभयो ।
मन्त्रालयका सचिवले हरेक कर्मचारीसँग दैनिक कामको विवरण माग गर्न समेत भन्नुभएको छ ।
मुख्यमन्त्री शाहीले बाहिर सरकार फेरिने हल्ला चल्ने र त्यसैका आधारमा कर्मचारीले काममा ढिलाइ गर्ने चलन बसाल्न अनुपयुक्त भएको बताउनुभएको छ ।