नन्द कठायत
सुर्खेत, १५ चैत (जागरण) ।
कोरोना भाइरसको जोखिलाई मध्यनजरगरी कर्णालीका सबै जिल्लामा समुदायस्तरमा होली मनाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिहरुले जमघट र भीडभाड गरेर समुदायमा नखेल्न सबैमा आग्रह गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्णाली रैबारलाई बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरसको जोखिम बढेको भन्दै सभा, गोष्ठी, जुलुस, भेला, जमघट, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न पनि आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि होलीमा सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । प्रशासनले होलीमा भिडभाड नगर्न र कोरोनाको संक्रमण बढ्न थालेकाले होली पर्व घरमै बसेर मनाउन, सेनिटाइजर, मास्क र सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिले जिल्लाका विभिन्न भिडभाड हुने ठाउँमा प्रहरी परिचालन गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले होली पर्वमा हुन सक्ने दुर्घटनालाई मध्यनजरी गरी प्रहरी परिचालन गरीएको बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय जाजरकोटले भने होलीमा जर्वजस्ति रङ लगाउने, लोला हान्ने, उर्छिङखल गतिविधि नगर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले होलीमा पर्वमा विचार विपरित उर्छिङखल गतिविधि गरेको पाइएमा कानून अनूसारको कावाही गर्ने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका दश वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले परिवारभित्र मात्र होली खेल्न आग्रह गरेका छन् । भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न पनि स्थानीय प्रसाशनले आग्रह गरेका छन् । पहाडमा फागुन पूर्णिमा र तराइमा त्यसेको भोलीपल्ट होली मनाउने गरिन्छ ।