चार दिन देशभरका शैक्षिक संस्था बन्द हुने

काठमाडौँ, १६ चैत (जागरण) । काठमाडौंसहित केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले जानकारी दिनुभयो ।
केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका देशका धेरै ठाउँमा वायु प्रदुषण बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ ।
जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल–कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं उपत्यकासहित देशका कैयौँ भेगमा फैलिएको वायु प्रदुषण र तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विज्ञहरूले बताएपछि सरकारले यो निर्णय गरेको हो ।
प्रदूषण हट्न आवश्यक पर्ने वर्षा वा वायुको गतिका लागि केही दिन अझै प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले बताएका छन ।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सावधानी अपनाउन अपिल गरिसकेको छ । मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ । प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू देखापर्ने चेतावनी चिकित्सकहरूले दिएका छन ।