कर्णाली प्रदेशमा ७० प्रतिशत दुध बाहिरबाट आयात हुँदै

नन्द कठायत ।
सुर्खेत, १८ चैत (जागरण) । कर्णाली प्रदेशमा ७० प्रतिशत दुध बाहिरबाट आयात हुने गरेको पाइएको छ ।
प्रदेशमा दुग्धजन्य पदार्थ उत्पादन केही मात्रामा बढेपनि यो प्रयाप्त नभएको बताइएको छ । कर्णालीमा अहिले ३० प्रतिशत मात्र दुग्धजन्य पदार्थ उत्पादन हुने गरेको छ ।
न्यूनतम पाँच लाख लिटर दुग्ध पदार्थ आवश्यक भएपनि अहिले आन्तरिक उत्पादनले मात्रै माग धान्न नसकेपछि बाहिरबाट आयात हुने गरेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा मागको २० प्रतिश मात्र दुग्धजन्य पदार्थ धानेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा आउदा दश प्रतिशतले वृद्धिभएर ३० प्रतिशत दुध उत्पाल भएको कर्णाली प्रदेशको पशुपन्क्षी विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले प्रदेशमा व्यवसायिक पशुपालन र पशुपालनसम्बन्धी सरकारी कार्यक्रम प्रभावकारी हुन नसक्दा बर्सेनी करोडौंको दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षमा कर्णालीको दुध उत्पादन बढाउनेगरी कार्यक्रम बनाइएको भन्दै सबै जिल्लामा सहजरुपमा काम भए प्रदेशमा दुध उत्पादन ५० प्रतिशत पुर्याइने कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनूसार अहिले कर्णालीमा ५ लाख दुधको माग छ । तर कर्णालीमा व्यावसायिक रूपमा गाई–भैसी पालन नगरिदा दुग्धजन्य उत्पादनमा समस्या भएको छ ।
प्रदेशमा कृषकले स्थानीय गाई पालन छोड्दै गएको भन्दै दुध उत्पादन घटेको उहाले बताउनुभयो । अहिले गाई भन्दा भैसी पालनलाई प्राथमिकता दिएको गिरीले बताउनुभयो ।
एकजना व्यक्तीलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्छ । तर कर्णालीमा एकजनाले बार्षिक ३० लिटर मात्र दुध उपभोग गर्ने गरेको पाइएको छ ।
दुग्ध उत्पादन बढाउन प्रदेश सरकारले व्यवसायिक पशुपालन गर्दै आएका कृषकहरुलाई प्रोत्साहनका साथै व्याजमा अनुदान सौलियत ऋण दिइरहेको पनि उहाले जानकारी दिनुभयो ।