तुवाँलोका कारण हुम्लाको हवाई सेवा प्रभावित

सुर्खेत, १८ चैत (जागरण) । हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।
बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।
आइतबार बिहानदेखि लागेको तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएका छन ।
तुवाँलोका कारण भोली पनि उडानको सम्भावना कम रहेको जनाइएको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न समस्या भएको छ ।
यस्तै, नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका केही पालिकाहरुले पठनपाठन जारी राखेका छन ।
सल्यानको दार्मा गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुल्ला नै राखेर पठनपाठन बन्द नगर्ने जनाएका हुन ।
वायु प्रदूषण बढेकोले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले सोमबार नै विद्यालय सञ्चालन गर्न आग्रह गरेका थिए ।
लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सवै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिनुभयो ।