सुर्खेत, १९ चैत (जागरण) । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।
एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार दलको विधान पारित, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल हुनेछ ।
कर्णालीका मुख्यमन्त्री शाही माओवादी केन्द्रबाट निर्वाचित सांसद हुनुहुन्छ । कर्णालीमा नेकपा एमाले सांसदले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अब सरकार बचाउन मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेशसभाको बहुमत सदस्यले विश्वासको मत दिएमा मात्र उहाको सरकार कायम रहन्छ । नत्र सरकार परिवर्तन हुने छ ।
त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिनुभयो । बैठकमा सरकार गठनबारे छलफल हुने उहाको भनाइ छ ।
पछिल्लो राजनितिक घटनाक्रम र सत्ता समिकरण बारे छलफल गर्न दुबै दलले संसदीय दलको बैठक बोलाएका हुन ।
यस्तै, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराउनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
प्रदेश प्रमुख कलौनीको आदेशानुसार मंगलबार प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको सम्बन्धको पत्र पठाएको छ ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।