डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प

डोल्पा, १९ चैत (जागरण) । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प छ । जिप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा यातायात सेवा ठप्प भएको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट घटाएर ३०० रुपैयाँ तोकेको विरोधमा यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताउनुभयो ।
सुँपानी–दुनैको १४ किलोमिटर सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिन अघिमात्रै जिल्ला प्रशासन कार्यालयले भाडा घटाएको हो । सवारी बन्द हुँदा नागरिकहरुलाई आवातजावत गर्न भने समस्या भएको छ ।