सुर्खेत, २० चैत (जागरण) । स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानले २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी पाएका छन ।
माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानले २ करोड ५५ लाख दाबी भुक्तानी पाएका हुन ।
शिखर इन्स्योरेन्सले उक्त रकम हस्तान्तरण गरेको छ ।
जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् ।
भुक्तानी पाए पश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् ।
जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति बिरुवाबाट २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ ।
यसैगरी, प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बीमा गराएका थिए ।
यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरे बापत रु. ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो ।
कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबी भुक्तानी पाएका हुन् ।
असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् ।