सुर्खेत, २० (जागरण) । सुर्खेतमा पुनः कोरोना भाइरस संक्रमणको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा १५ जनाको पीसीआर परीक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार संक्रमित सबै वीरेन्द्रनगरमै बसोबास गर्दै आएका छन् ।
उनीहरुमध्ये धेरैजसो दैलेख र काठमाडौंबाट सुर्खेत फर्किएका हुन् । केही संक्रमित भने वीरेन्द्रनगरमै कार्यरत सुरक्षाकर्मी हुन् ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ । उनीहरुमा कोरोनाको कुनै लक्षण छैन ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।