आफुखुसी स्वास्थ्य संस्थालाई मर्ज गरेको भन्दै कर्णाली प्रदेश सरकार विरुद्ध अदालतमा मुद्धा

सुर्खेत, २० चैत (जागरण) । आफुखुसी स्वास्थ्य संस्थालाई मर्ज गरेको भन्दै कर्णाली प्रदेश सरकार विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्धा दर्ता भएको छ ।
साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको भन्दै नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र मेडिकल ल्याब्रोटरी एसोसियसन अफ नेपाल कर्णाली प्रदेशका अध्यक्षले बुधबार मुद्धा दर्ता गराएका हुन् ।
विभेदपूर्ण तरिकाले खर्च कटौती गर्ने बाहानामा प्रदेश सरकारले २०७६ भाद्र ५ र ६ गते साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको थियो ।
स्वास्थ्य सम्बद्ध कार्यालयहरुलाई कर्णाली प्रदेश बाहेकका प्रदेशमा स्वतन्त्र रुपमा रहेको र प्रदेश सरकारले फरक–फरक विधाका स्वास्थ्य संस्थालाई खर्च घटाउने नाममा मर्ज गर्दा स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा धरासायी भएको भन्दै अदालतमा मुद्धा दर्ता गरिएको बताईएको छ ।
मर्ज विरुद्ध बेला–बेला स्वास्थ्य सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले संयुक्तरुपमा विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रमा देखिएको समस्या तत्काल समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएकाले बाध्य भएर अदालतको बाटो रोज्नु परेको आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कँडेलले बताउनुभयो ।