जाजरकोट, २१ चैत (जागरण) । जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाको शव बारेकोटकै देउलस्थित खोलामा आज दिउँसो फेला परेको जाजरकोटका डीएसपी मधु थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको डीएसपी थापाले बताउनुभयो ।