गर्भवतीलाई एक माना घ्यु र भाले

टेकराज केसी ।
सुर्खेत, २१ चैत (जागरण) । जुम्लाको गुठीचौर गाउँपालिकाले दुइवटा कार्यक्रम संचालन गरि पछाडी पारिएका नागरिकहरुको रोजगारी र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने प्रयास गरेको छ ।
गाउँपालिकाले गरिबसँग अध्यक्ष र गर्भवती महिलासँग अध्यक्ष कार्यक्रम संचालन गरि रोजगारी र पोषण सुधार गर्न खोजेको हो ।
गरिबसँग अध्यक्ष कार्यक्रम अन्तरगत प्रत्येक बर्ष १५ जनालाई स्वरोजागर बनाउने गरिएको छ । जसको लागि प्रत्येक बर्ष १५ लाख बजेट विनियोजन गर्ने गरिएको छ ।
त्यसैगरी, गर्भवतीसँग अध्यक्ष कार्यक्रम अन्तरगत पालिकाभर रहेका महिला गर्भवतीको लागि पोषणयुक्त खान उपलब्ध गराउने गरिएको हो । त्यसको लागि प्रत्येक बर्ष ५ लाख रकम बिनियोजन गर्ने गरिएको छ ।
गर्भवतीलाई एउटा भाले र एक माना घ्यु गाउँपालिकाले नै उपलब्ध बनाउँदै आएको छ ।
यो कार्यक्रमले पछाडी पारिएका नागरिकहरुलाई सहज हुने गाउँपालिका अध्यक्ष हरी बहादुर भण्डारीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यो कार्यक्रमलाई व्यापक बनानउ प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरिएको उहाले जानकारी दिनुभयो ।
पालिकामा रहेका दलित, महिलाहरुलाई माथी उठाउन र उनिहरुको आर्थिक विकास गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको उहाले जानकारी दिनुभयो ।
यी कार्यक्रम मार्फत अहिलेसम्म ४ सय जत्ती लाभाम्बित भइसकेको गाउँपालिकाको भनाई छ ।