माओवादी संसदीय दलको निश्कर्षः अहिले नै विश्वास मत आवश्यक छैन

सुर्खेत, २२ चैत (जागरण) । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल विश्वासको मत लिनुपर्ने अवस्था नआएको निश्कर्ष निकालेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले एमालेको माधव नेपाल समूहका मन्त्रीहरु सरकारमै रहेका कारण तत्काल विश्वासको मत लिनुपर्ने अवस्था नभएको निश्कर्ष निकालेको हो ।
सरकारको बहुमत नगुमेकाले विश्वासको मत अहिले नै लिनु नपर्ने निष्कर्षमा आफुहरु पुगेको संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले बताउनुभयो ।
यस्तै, एमाले संसदीय दलको बैठक बस्ने जानकारी आफुहरुले पाएको भन्दै उक्त दलले गर्ने निर्णयलाई हेरेर आवश्यक कदम चाल्ने बैठकले निर्णय गरेको उहाले जानकारी दिनुभयो ।
यस्तै, माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहने गरी हटाउने निर्णय बैठकले गरेको छ ।
रेग्मीलाई पार्टीले कारबाही गरिसकेकाले सांसद पद नरहने गरी हटाइएको नेपालीले बताउनुभयो ।
बैठकले एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको गतिविधि संविधानको मर्म विपरित भएको भनेको छ ।
प्रदेश प्रमुख कलौनीले चैत्र ५ गते र गएको बुधबार गरी दुईचोटी मुख्यमन्त्री शाही अल्पमतमा परेको भन्दै जनाउँदै ध्यानाकर्षण पत्र पठाउनुभएको थियो ।
यसैबिच, एमाले संसदीय दलको बैठक (आज) आइतबार बस्दैछ । बैठकमा एमाले एक मत भएर जाने प्रदेशस सदस्य सुशील थापाले बताउनुभएको छ । जागरण एफएमको साप्तिहिक कार्यक्रम जन जिज्ञासामा कुरा गर्दै थापाले यस्तो बताउनुभएको हो ।