सुर्खेत, १९ जेठ (जागरण) । तत्कालिन एमाले र माओवादबिच एकता भएपछि पहिलोपटक कर्णालीमा प्रदेशभाका सांसदहरु एकै ठाउँमा जम्मा भएका छन् ।
पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज वीरेन्द्रनगरमा आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भुमिका, दायित्व र जिम्मेवारीका विषयमा निर्देशन दिएको हो ।
सांसदहरुलाई अब संसद वैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रिय नेताहरुले निर्देशन दिएको सांसद ठम्मरबहादुर विष्टले जानकारी दिनुभयो ।
सांसदहरुको भेलालाई नेताहरु जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्माले आवश्यक निर्देशन दिएको बताईएको छ ।
यसैबिच, सुर्खेतको वीरेन्द्रनगरस्थित तत्कालिन एमाले र माओवादीको पार्टी कार्यालयबाट पुरानो बोर्डलाई पनि हटाईएको छ ।
पार्टी एक भईसकेपछि संयुक्त रुपमा नै पार्टी र जनसंगठनहरु संचालन गर्नका लागि पुरानो बोर्डहरु हटाईएको तत्कालिन नेकपा सुर्खेतका नेता मोहन बडुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब एउटा कार्यालबाट जनसंगठनहरु संचालन गरिनेछ भने अर्को कार्यालयबाट पार्टी संचालन गरिनेछ । कुन कार्यालयबाट कुन काम संचालन गरिने भन्ने टुंगो पछि लगाईने उहाँको भनाई छ ।