प्रदेश प्रमुख कलौनीद्वारा बैशाख तिन गतेका लागि संसद बैठक आब्हान

सुर्खेत, ३० चैत (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशसभा बैठक आब्हान गर्नुभएको छ ।
प्रदेश सरकारको शिफारिसमा बैशाख तिन गतेको लागि कलौनीले संसदको हिउँदे अधिवेशन आब्हान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गते दिउसो २ बजेका लागि आव्हान गर्नुभएको हो ।
करिब ६ महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक डाकिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले बैशाख ३ गतेका लागि संसद बैठक बोलाउन शिफारिस गर्ने निर्णय गरेको थियो ।
पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ । एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि ३ गते बस्ने बैठकलाई अर्थका साथ हेरिएको छ ।
सरकार अल्पमतमा परेपनि मुख्यमन्त्रीले संसदमै विश्वासको मत लिनेगरी तयारी भइरहेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले बताउनुभयो ।
नेकपा एमालेले यहीँ चैत्र ५ गते सरकारलाइ दिएको समर्थन फिर्ता दिएको थियो । एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीहरुले भने चैत्र २४ गते सामुहिक राजिनामा दिएका थिए ।
यता, एमालेका सांसद सुशील थापाले भने नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया शुरु हुने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाले कर्णालीमा नयाँ बर्षसँगै नयाँ सरकार बनाउने प्रक्रिया अगाडी बढ्ने बताउनुभएको हो ।
कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने ४० सांसदमध्य एक जना सांसदलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई कारवाही गरिएको हो । अब प्रदेश सभामा ३९ जना सांसद छन् । यी मध्य एमालेका २०, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।