कर्णालीमा गर्ने भनिएको लगानी सम्मेलन अन्योलमा

सुर्खेत, १ बैशाख (जागरण) । कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले २०७८ वैशाखमा हुने भनिएको कर्णाली लगानी सम्मेलनमा अन्योलता थपिएको छ ।
प्रदेश योजना आयोगले लगानी सम्मेलनका लागि सबै तयारी अन्तिम चरणमा पुरा भएको बताएको छ । तर विकशित प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले भने लगानी सम्मेलनलाई प्रभाव पार्ने देखिएको हो ।
यही कारण सम्मेलन कहिले गर्ने भन्ने ठोस मिति प्रदेश योजना आयोगले तोक्न सकेको छैन ।
योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार बन्ने वा पुरानै सरकारल रहने टुङ्गो लागीसकेको खण्डमा मात्रै लगानी सम्मेलनको कामलाई अगाडि बढइने कर्णाली रैबारलाई जानकारी दिनुभयो । आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।
उहाँले कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाहरूको आकर्षण बढाउन प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्नै पर्ने भएकाले सरकार परिवर्तन भएपनि लगानी सम्मेलन ढीलो चाडो हुने बताउनुभयो ।
गत पुस १३ गते बसेको कर्णाली प्रदेश विकास परिषद्को बैठकले संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया तथा कर्णाली प्रदेशस्तरीय लगानी सम्मेलनका लागि संयोजन गर्न सदस्य शाहीलाई जिम्मेवारी दिएको छ ।
उहाका अनुसार कर्णालीमा विकास साझेदारलाई आकर्षण गराउन लगानी सम्मेलन गर्न लागिएको छ । सरकार परिवर्तन हुन सक्ने सम्भावनाले सम्मेलन कसरी गर्ने अन्यौलता थपिएको हो ।