तपाईँको २०७८ साल कस्तो रहन्छ ? पढ्नुहोस वार्षिक राशिफल

सुर्खेत, २ बैशाख (जागरण) । तपाईको नमको पहिलो अक्षरबाट थाहा पाउँनुहोला कुन राशि हो भनेर ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बृहस्पति र शनिको अनुकूल प्रभावले यो वर्ष उपलब्धिमूलक कार्यको थालनी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानान्तरण हुने बलियो समय छ। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ । लोकप्रिय कामले नाम, दाम र सम्मान दिलाउनेछ। भाग्यले असल साथी बढ्नेछन् भने प्रेम तथा वैवाहिक बन्धनमा बाँधिने अवसर पनि जुर्न सक्छ। विद्यार्थीहरूका लागि विशेष प्रगति गर्ने समय छ। लगनशीलताले स्वरोजगार बन्न सफल भइनेछ। तर विदेश ताक्नेहरूलाई भने यो वर्ष त्यति उपलब्धिमूलक नहुन सक्छ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा थालनी हुनेछ। सेयर तथा व्यापार–व्यवसायमा फाइदा उठाउने समय छ । कृषि र पशुपालनका क्षेत्रमा पनि विशेष लाभ हुने समय छ। आर्थिक उन्नति हुनाले यो वर्ष घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न वा निर्माण गर्न सकिनेछ। शनिको प्रभावले कर्मक्षेत्रमा ज्ञान र अनुभवको कमी देखिनेछ । वाणीभावमा राहुको प्रभावले विवादास्पद काम र अभिव्यक्तिको संवाहक भइनेछ। सामाजिक कामको प्रशंसा भए पनि अलोकप्रिय वाणीको पटकपटक आलोचना हुनेछ। आफन्तसँग बिनाकारण वादविवाद हुन सक्छ। वर्षभरि आलोचकहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन । अनावश्यक रूपमा सञ्चित धन खर्च हुने देखिन्छ। वर्षभरि कष्टभावमा केतु रहनाले अजीर्ण तथा पेटको समस्याले स्वास्थ्यमा पनि बाधा भइरहने सम्भावना छ । यो वर्ष श्रम तथा ज्ञानका माध्यमबाट आर्थिक, भौतिक र सामाजिक क्षेत्रमा उन्नति हुनेछ। आफ्ना इष्टदेव–देवीका साथै वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नाले यो वर्षका सम्भावित संकटहरू टर्नेछन । प्रयत्न गर्दा असार, असोज, माघ र फागुन महिनामा विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो वर्ष मध्यम फलदायी रहेको छ । कर्मभावका बृहस्पतिमाथि शनिदेवको प्रतिवेध प्रभावले वर्षभरि अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले उपलब्धि प्राप्त गर्न सफल भइनेछ । नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने योग छ । कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि सामान्य फाइदै हुनेछ। प्रयत्न गर्दा अध्ययन तथा रोजगारीमा सफल बन्न सकिनेछ। तर विदेश ताक्नेहरूले वर्षको उत्तरार्ध पर्खनुपर्ने देखिन्छ । व्यापारमा मन्दी तथा केही व्यावसायिक उतारचढाव आए पनि प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुने समय छ । यो वर्ष आयस्रोत सबल देखिए पनि समयमा रकम नजुट्ने र फजुल खर्च बढ्ने हुँदा अर्थ अभावले सताइरहने छ । साथीभाइको सहयोगले व्यवहार सुल्झाउन सकिनेछ । शीर्षभावमा वर्षभरि राहुको उपस्थितिले चोट, चिन्ता, भय, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभाव सामना गर्नुपर्ने हुन सक्छ । चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ । पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ। आफ्नै व्यवहारले घर–गृहस्थी समेत प्रभावित बन्ने सम्भावना छ। जन्मकुण्डलीमा बृहस्पति, शनि, राहु र केतु प्रतिकूल हुनेहरूको पारिवारिक माहोल वर्षभरि कमजोर रहनेछ। अरूका समस्या सुल्झाउने प्रयत्न गर्दा आफ्ना समस्या बल्झिन सक्छन्। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहदेवताको पूजा, जप, अनुष्ठान आदि गर्न सकिन्छ । बृहस्पतिका लागि बगलामुखी र शिवजी तथा राहु र केतुका लागि बटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले फाइदा हुनेछ। साउन, कार्तिक, फागुन र चैत महिना विशेष उपलब्धिमूलक हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो वर्ष अवसर र चुनौतीका शृंखलाहरू पार गर्दै अन्त्यमा प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। धर्मभावमा रहेका बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ । र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ । अध्ययन तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ । घरगृहस्थी सुखद् र आनन्दमय रहनेछ । धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। वर्षको उत्तरार्धमा सन्तानसुखको योगसमेत रहेको छ । कष्टभावका शनि र खर्चभावका राहुले भने यो वर्ष केही पीडादायी बन्न सक्छ। दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धाभावका केतु प्रतिरक्षात्मक बन्ने हुँदा धेरै समस्या पार लगाउन सकिनेछ। रोगबाट छुटकारा मिल्नेछ भने शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धी कमजोर बन्नाले आफूलाई फाइदा हुनेछ । प्रगतिका लागि गरिएका प्रयासहरू आंशिक रूपमा सफल हुनेछन । समग्रमा वर्षभरि केही उतारसचढावको शृंखला देखापर्नेछ । प्रारम्भमै संघर्ष हुनेहरूका लागि पछिल्लो समय सफलता मिल्नेछ। सुरुमा प्रगति हुनेहरूका लागि बीचमा समस्या देखापर्नेछन्। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ । राहुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, भदौ, मंसिर र चैत्र महिना विशेष उपलब्धिमूलक बन्नेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो वर्ष बृहस्पति कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ । सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ । बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ । आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ । मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन । तर, लाभस्थानका राहुको प्रभाव र बृहस्पतिमाथिको प्रतिवेधले सकारात्मक नतिजा हातलागी हुनेछ। सुरुमा अरूको सहयोग लिनुपरे पनि आयस्रोत सबल बन्नाले विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। आस मारेको कामले लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। मुख्य काम रोकिए पनि वैकल्पिक उपाय फेला पर्नेछन् । परिस्थितिवश धर्मकर्म र अध्ययनमा समय दिन नसकिए पनि एकान्तवासले लुकेको प्रतिभा प्रस्फुटन हुनेछ । प्रयत्न गर्दा नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। केतु र शनिको प्रतिकूलताले काममा विलम्ब, स्वास्थ्यमा प्रतिकूलता र परिवारमा असमझदारी निम्त्याउने देखिन्छ । पेसा–व्यवसायमा यो वर्ष केही उल्झन र कम प्रतिफल प्राप्त हुने सम्भावना छ । प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिवार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको उपासना गर्नाले, केतुका लागि वटुकभैरवको पूजा गर्नाले फाइदा हुनेछ । आफ्ना इष्टदेवको आराधना गर्दा पनि ग्रहदोष शान्त हुनेछ । कर्कट राशिलाई वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिलाई कर्मक्षेत्रमा केही उतारचढाव देखिए पनि यो वर्ष सामान्य परिस्थितिबाट सफलताको उचाइ प्राप्त गर्न सकिनेछ । बृहस्पति र शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन् । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । विद्यार्थीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर जुट्नेछ । व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ । यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ । घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ । र, जीवनशैलीमा परिवर्तन आउनेछ । आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ । नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ । कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ । पुरानो कामधन्दा फस्टाउनेछ । गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ । प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन । कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भने भइरहनेछ । उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला । पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ । गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ । छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ । राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला । वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ । तुलनात्मक रूपमा जेठ, असार, कात्तिक र माघ महिनामा विशेष फाइदा उठाउन सकिनेछ । साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने वर्ष रहेको छ । बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ । स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ । शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ । साझेदारीमा असमझदारी बढ्न सक्छ । काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ । बिनाकारण आफन्तजन टाढिन सक्छन । परिवारजनमा विश्वासको संकट देखापर्नेछ । प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ । विद्याभावमा शनि र धर्मभावमा राहुको उपस्थितिले आलस्य र उदासीन प्रवृत्ति बढ्ने हुँदा प्रगतिको मार्ग संकुचित बन्ने देखिन्छ । व्यवहारले कमजोर उपलब्धिमा सुधार ल्याउन नसकिएला । दीर्घकालीन योजना नहुदा उपलब्धिबिनै समय व्यतीत हुनेछ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ । पेटको समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ । पराक्रमभावमा केतु रहनाले काममा आंशिक सफलता भने प्राप्त हुनेछ । उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ । प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ । बृहस्पतिको प्रभावले यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ । अध्ययनमा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्ध फलदायी रहनेछ । प्रतिकूल समयमा आफ्ना इष्टदेवता, शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला । काली भगवती, वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले पनि काममा फाइदा हुनेछ । असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो वर्ष अवसर र चुनौतीका उतारचढाव पार गर्दै विशेष उपलब्धि आर्जन गर्न सफल भइनेछ । विद्याभावका बृहस्पतिको प्रभावले उत्साहजनक सफलता प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले मानसम्मानसमेत प्राप्त हुनेछ । भाग्यले असल प्रेमपात्र जुराउनुका साथै गृहस्थी जीवन प्रारम्भ गर्ने अवसर दिलाउन सक्छ । आयआर्जनका नयाँ स्रोत फेलापर्ने छन् । नोकरीमा पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने सम्भावना छ । सुखभावका शनि, कष्टभावका राहु र धनभावका केतुले भने यो वर्ष समस्या र विघ्नबाधाको नेतृत्व गर्नेछन् । शनिको अढैया प्रभावले मन अशान्त भइरहने छ । परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ । सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन् । अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन् । काम बिग्रने डरले पनि सताइरहने छ । राहु र केतुको प्रभावले स्वास्थ्यबाधा, झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्यासँग जुध्नुपर्ने छ । समग्रमा दैनिकी संघर्षपूर्ण देखिए पनि मिहिनेतले आसलाग्दो उपलब्धि दिलाउनेछ । प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला । महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ । बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ । साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि यो वर्ष उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। पराक्रमभावमा शनिदेवको अनुकूल प्रभावले नयाँ जिम्मेवारी प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। विभिन्न भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन् । सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । बृहस्पति, राहु र केतु भने यो वर्ष अलि प्रतिकूल रहनेछन्। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ । सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ । अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ । परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ । साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ । दाम्पत्यभावमा राहुको उपस्थितिले गृहस्थी सुखमा बाधा पुग्नेछ । प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा गृहस्थीको जग कमजोर हुनेछ । केतुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ । जन्मसमयमा बृहस्पति, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी तथा राहु र केतुका लागि बटुक भैरव तथा छिन्नमस्ता र धूमावती भगवतीको पूजा गर्नुहोला । यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै मध्यान्तरमा लक्ष्य प्राप्त गर्न सफल भइनेछ । वर्षभरि राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त भइरहनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सफल भइनेछ । व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि फाइदा हुनेछ । विशेष यन्त्र र सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ विशेष फाइदा हुनेछ । वर्षभरि धनभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ र धनको अभाव भइरहनेछ । कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्चभावमा केतुको उपस्थितिले फजुल खर्च, झूटा आरोप, यात्रामा कष्ट पाउमा चोटपटक जस्ता समस्या देखापर्नेछन् । पराक्रम–भावका बृहस्पति केही प्रतिरक्षात्मक रहे पनि आफ्नो उन्नतिमा आँखा लगाउनेहरू प्रशस्त हुनेछन् । चुनौतीपूर्ण काम अँगाल्नाले व्यवहारमा अनेक प्रकारका नैतिक संकट आइलाग्न सक्छन ्। पहिलेको उपलब्धि र प्रतिष्ठा जोगाउन सदैव क्रियाशील रहनुपर्ने छ । समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ । अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई यात्रा सम्भावित देखिए पनि कालान्तरमा समस्या झेल्नुपर्ने छ । जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूले काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ । केतुको दोषबाट बच्न वटुकभैरव र धूमावती भगवतीको पूजा–आराधना गर्नुहोला । जेठ, असोज, कार्तिक र फागुन महिना विशेष अनुकूल रहनेछन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो वर्ष उत्साहजनक अवसर प्राप्त हुनाले व्यावहारिक व्यवधान चिर्दै प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ । वाणीभावमा रहने बृहस्पतिको प्रभावले इच्छाशक्ति एवं काममा लगनशीलता बढ्नेछ । प्रतिभा प्रदर्शन गरेरै विभिन्न अवसर प्राप्त गर्न सकिनेछ। आर्थिक तथा बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । पुरस्कार तथा मान–सम्मान हातलागी हुने सम्भावना छ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने समय छ । व्यवसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुनेछ । केतुको अनुकूल प्रभावले वर्षभरि धनआर्जनका विभिन्न स्रोतहरू जुट्नेछन् । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । वर्षभरि मस्तिष्कभावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति समेत बढ्नेछन । शनिको मध्य साढेसाती प्रभावले जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन । आलोचकहरूले लोकप्रिय काममा समेत अवरोध पुर्याउन सक्छन् । उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ । पाचनक्षेत्रमा राहुको उपस्थितिले पेट सम्बन्धी स्वास्थ्यबाधा र उपचारमा खर्च हुने सम्भावना देखिन्छ । महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ । बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ । असार, कार्तिक, मंसिर र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो वर्ष विभिन्न अवसर आए पनि कर्तव्य पालना गर्न केही त्याग गर्नुपर्ने परिस्थिति आउन सक्छ । समयमा उद्देश्य प्राप्ति नहुँदा केही निराशा जाग्नेछ । जन्मराशिका बृहस्पतिले नीति–नियम, प्रतिष्ठा र आत्मसम्मानका पक्षमा उभिने प्रेरणा प्रदान गर्नेछन्। कर्तव्यबोधले धनको लालसा परित्याग गर्दै ज्ञानको मार्गतर्फ प्रवृत्त भइनेछ । प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ । विभिन्न दर्शनको अध्ययन तथा चिन्तनमा मन रमाउनेछ । धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ । जन्मकुण्डलीमा प्रतिकूल बृहस्पति हुनेहरूलाई भने एकान्तवास, स्वैच्छिक अवकास र त्यागको भावना जागृत हुनेछ । धैर्यले काम लिनेहरूलाई भने यो वर्ष फाइदा हुनेछ। कर्मभावका केतुको प्रभावले बिस्तारै कर्मसम्पादन हुनेछन । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । काममा अरूको सहयोग लिनुपरे पनि दिगो योजना प्रारम्भ गर्न सकिनेछ। प्रयत्न गर्दा विभिन्न स्रोतसाधन जुट्नेछन् । पेसामा नेतृत्व लिँदै नयाँ प्रविधि भित्र्याउन सकिनेछ । खर्चभावमा साढेसातीयुक्त शनिको उपस्थितिले भने मनमा डर पैदा गर्ने देखिन्छ। परिस्थितिवश अधिक खर्च, नोकरीमा दुर्गम स्थानान्तरणको चर्चा, अपजस, आलोचना आदिले केही हतोत्साहित भइनेछ । सुखभावमा रहने राहुको प्रभावले साथीभाइ र घरपरिवारको सुखबाट वञ्चित भएको आभास गराउनेछ । अवसरवादीहरूले नजिकको साइनो गाँसी आफ्नो भावनामाथि खेलबाड गर्ने प्रयत्न गर्नेछन् । यो वर्ष बृहस्पतिको दुष्प्रभावलाई शान्त पार्न शिवजी र बगलामुखीको आराधना गर्नुपर्नेछ । शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ । वटुक भैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोष शान्त हुनेछ । वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी हुनेछन् भने भने जेठ, असोज र माघ अलि प्रतिकूल रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिलाई यो वर्ष केही खर्चिला काम गर्नुपर्ने परिस्थिति आए पनि यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ । खर्चभावका बृहस्पतिको प्रभावले फजुल खर्च नियन्त्रित हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि अनुभवले ज्ञान आर्जन गर्ने अवसर प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई पनि वर्षको मध्यतिर साइत जुर्न सक्छ । सानो लगानीले ठूलो उपलब्धि दिलाउन सक्छ । वर्षभरि लाभस्थानमा रहने शनि र पराक्रमभावमा रहने राहुको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ । भौतिक सुख–सुविधा बढ्नेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ । सेयर, उद्योग र ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ । बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने समय छ । कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा पनि राम्रो लाभ हुनेछ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ । मिहिनेतीहरूका लागि यो वर्ष भाग्योदयका साथ जीवनको उज्यालो पक्ष प्रारम्भ हुनेछ । समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन् । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नया गति लिनेछ । पढाइ तथा रोजगारीका सन्दर्भमा देश–विदेशको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ । बृहस्पतिको कमजोर प्रभावबाट बच्न शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला । आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलित ज्योतिषा चार्य)