कर्णाली प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद शुरु

सुर्खेत, १९ जेठ (जागरण) । सुर्खेतमा आजदेखि कर्णाली प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ ।
जेठ २१ गतेसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले बताउनुभयो । सहभागी खेलाडीले स्वर्ण, रजत र कास्य गरी ३ सय ४ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कर्णालीका १० वटै जिल्लाबाट ८ सय ४० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले कर्णाली प्रदेशमा अन्तर्रा्ष्ट्रिय स्तरको रंगशाला बनाइने बताउनुभएको छ ।
त्यसैको परिणाम स्वरुप संघीय सरकारले यो वर्ष रंगशाला निर्माणको डीपीआर निर्माण गरी आगामी वर्षबाट निर्माण सुरु गर्ने उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पदमा खड्काले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग विशेष पहल गर्ने बताउनुभयो ।