सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने निर्णय

सुर्खेत,६ बैशाख (जागरण) । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिनुभयो ।

मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्‍चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  ।

पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो । तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । सुर्खेतसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो । त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय गरेको छ ।