सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिने माओवादीको निर्णय

काठमाडौं, ८ बैशाख (जागरण) । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने जिम्मेबारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सुम्पेको छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय भएको जानकारी दिनुभयो ।

ओलीलाई हटाएर वैकल्पिक सरकार निर्माणका लागि अगुवाइ गर्दै आएको माओवादीले अहिलेसम्म समर्थन फिर्ताको औपचारिक निर्णय भने गर्न सकेको छैन। समर्थन फिर्ताको निर्णय गर्ने भन्दै मंगलबार बसेको  बैठकले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर  निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गर्दै टुंगिएको थियो। नेपाली कांग्रेसले माओवादी निर्णय गरेपछि मात्र वैकल्पिक सरकारको तयारी अघि बढाउन सकिने बताउँदै आएको छ।