जुम्लाको तिला गाउँपालिले डेढ सय युवालाई एकचोटी स्वरोजगार बनाउँदै

टेकराज केसी ।
सुर्खेत, ८ बैशाख (जागरण) । जुम्लाको तिला गाउँपालिकाले यो आर्थिक बर्षमा एक सय ५० जनालाई स्वरोजगार बनाउनेगरी योजना अगाडी सारेको छ ।
त्यसको लागि सुचना आव्हान भइसकेको भन्दै गाउँपालिकाले उद्यमी गर्न चाहाने युवाहरुलाई सहभागी हुन आग्रह समेत गरेको छ ।
गाउँपालिकाले राष्ट्रिय युवा परिषद र विभिन्न बैंकहरुको सहकार्यमा एक सय ५० जना युवाहरुलाई व्यवसायिक बनाउने योजना बनाएको हो ।
पालिकाभित्र रहेका १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुलाई व्यवसायिक काउन्सिलिङ गरिने भन्दै गाउँपालिका अध्यक्ष रतननाथ योगीले उनिहरुलाई तालिमको व्यवस्था समेत गरिएको कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
सबैलाई जागिरी भनेर दिन सम्भव नभएको भन्दै गाउँपालिकाले आत्मनिर्भरताको योजना बनाएको भन्दै अधिकांस युवाहरुलाई स्वरोजगार बनाइने उहाले जानकारी दिनुभयो ।
व्यवसायिक बन्न चाहाने युवाहरुको सौहुलियतपूर्ण ऋणसमेत आफुहरुले उपलब्ध गराउनेगरी कार्यक्रम अगाडी बढाइएको उहाले बताउनुभयो ।
यसअघि, पनि गाउँपालिकाले कृषि पशुपालनका क्षेत्रमा दुइ सय जना युवाहरुलाई स्वरोजागरको बाटोमा लगाइसकेको उहाले बताउनुभयो ।
विभिन्न क्षेत्रमा फलफुल खेती, आलु खेती, भेडा पालन लगायतका क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न गाउँपालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको पनि योगीले जानकारी दिनुभयो ।
गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा डेढ करोड बजेट बिनियोजन गरेको छ ।