गल्ती महसुस गर्नुहोस पार्टीमा फर्किनुहोस : प्रधानमन्त्री ओली

काठमाण्डाै, ९ बैशाख (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गर्नुभयो ।

पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आउनुभएको छ । बुधवार (हिजो) मात्रै उहाँले माधवकुमार नेपाल र खनाल–नेपाल समूहका अर्का नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।

यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार (आज) नयाँ कार्यालयमा पदस्थापन पनि गर्नुभएको छ । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।