कर्णालीको दस बर्षे शिक्षा नीति बनाइदै

नन्द कठायत

सुर्खेत, १३ बैशाख (जागरण) । कर्णाली प्रदेशको शिक्षाको विकासका लागि दश बर्षे शिक्षा नीति निर्माण गरिने भएको छ ।
संघिय सरकारको समन्वयमा प्रदेश सरकारले दश बर्षे शिक्षा नीति निर्माणको काम थालेको हो । प्रारम्भिक शिक्षा देखि उच्च शिक्षासम्म समेट्नेगरी शिक्षा नीति बनाइदै छ । सामाजिक विकास मन्त्रालयले शैक्षिक रुपान्तरणको लागि समावेशी शिक्षा प्रमुख माध्यम भएकाले संघीय सरकारले बनाएको शिक्षा नीतिको आधारमा प्रदेशले थपघट गरी तयार गरिने मन्त्रालयका उपसचिव जवाहरलाल हमालले बताउनुभो ।उहाँकाअनुसार प्रदेशको प्रथम पञ्चवर्षीय योजना तथा स्थानीय, प्रदेश र संघिय सरकारको सुचकहरुको आधारमा शिक्षा निती तयार हुने छ । संघीय सरकारले बनाएको नीतिका आधारमा स्थानीय र प्रदेश सरकारले आफ्नो–आफ्नो शिक्षा निति बताउन सक्नेछन् ।
चालू आर्थिक वर्षको असार महिनाभित्र तयार भई आगामी आर्थिक वर्ष २०७८÷०७९ को साउन १ गतेदेखि लागू हुनेगरी नीति तयार गर्न लागिएको हमालको भनाई छ ।
निर्माण गर्न लागिएको दस वर्षे शिक्षा नीति ठाउँ र परिवेश सुहाउँदो बनाइने उहाँले बताउनुभयो ।