सुर्खेत, १४ बैशाख (जागरण) । नेकपा एमालेबाट निर्वाचित भए पनि कर्णाली प्रदेशसभामा विश्वासको मत दिँदा नेकपा माओवादी केन्द्रको पक्षमा मतदान गरेका चारजना तत्कालिन सांसद पदमुक्त भएका छन् ।
एमाले कर्णाली प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गराइएको हो । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराउनुभयो ।
पदमुक्त हुने सांसदहरुमा सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क) बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित अमरबहादुर थापा हुनुहुन्छ ।
हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । ज्वाला भने कुनैपनि जिम्मेवारीमा हुनुहुन्न । यी चारै जनाले वैशाख ३ गते पार्टीको ह्विप विपरीत नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गर्नुभएको हो ।
सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । अब कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।