४८ पदकसहित राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतको पोल्टामा

सुर्खेत, २१ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । २५ स्वर्ण, १० रजत र १३ कास्य पदक प्राप्त गर्दै सुर्खेतले उपाधि जितको हो ।


यस्तै, ९ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै जुम्ला द्वितिय भएको छ भने ७ स्वर्ण, ९ रजत र ११ कास्य जित्दै सल्यानले तेस्रो स्थान हाँसिल गरेको छ ।
तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम, द्वितिय र तृतीय हुने जिल्लाले क्रमशः २०, १५ र दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट र एथलेटिक्स खेल समावेश गरिएको थियो । सहभागी खेलाडीले स्वर्ण, रजत र कास्य गरी ३ सय ४ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कर्णलीका १० वटै जिल्लाबाट ८ सय ४० खेलाडीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रदशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशाशीत बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाण्डौँमा हुने प्रतियोगितामा धेरै पदक कर्णालीले नै जित्ने विश्वास लिनुभयो ।