श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं,१८ बैशाख(जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने  घोषणा गर्नुभएको हो ।

उहाले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने दाबी गर्नुभएको छ । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने भएको छ।

अनिकालमा पनि सकेसम्म भोकै नबस्ने भएकाले कोरोनाको संकट भएपनि यस वर्ष पारिश्रमिक पुनरावलोकन गर्ने उहाले बताउनुभयो। स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उहाले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभयो ।

उहाले सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताउँदै दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार र कर्मचारीहरूबाट स्पष्ट पार्नुभएको छ ।

ओलीले एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’उपलब्ध गराएको बताउनुभयो । उहाले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको दाबी समेत गर्नुभयो ।