सुत्केरी हुन नसकेकी महिलाको उद्दार

सुर्खेत, १८ बैशाख (जागरण) । सुत्केरी व्यथाले च्यापेपछि एक गर्भवतिको उद्दार गरिएको छ । कालिकोट जिल्लाको महावै गाउँपालिका–१ चिलखायाका २२ वर्षीय शान्ति सिंह शाहीको नेपाली सेनाको हेलिकोप्टरबाट आज उद्दार गरिएको हो ।

लामो समयसम्म व्यथाले लाग्दा पनि बच्चा उहाले बच्चा जन्माउन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्दार गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले जानकारी दिनुभयो । उहाका अनुसार उद्दार गरिएकी शाहीलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

घर फर्किदा यातायात खर्च वापत २० हजार खर्च समेत दिने गरी अस्पताललाइ रकम पठाइसिकएकाे ढुंगानाकाे भनाइ छ । उहाकाअनुसार हेलिकाेप्टरबाट उद्दार गरिएका गर्भवती र सुत्केरीलाइ साे रकम उपलव्ध गराउन प्रदेश अस्पताललाइ पाँच लाख रकम मन्त्रालयले पठाएकाे छ ।

मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्दार गर्दै आएको छ । निःशुल्क हवाइ उद्दार कार्यक्रम देशका २९ जिल्लामा लागु गरिएको हो ।