कर्णालीका केही स्थानीय सरकारहरु राहतका प्याकेजहरु ल्याउँदै

सुर्खेत, १८ बैशाख (जागरण) । कोरोना संक्रमण बढ्दै जाँदा कर्णालीका विभिन्न जिल्लाहरु अहिले बन्द गरिएका छन ।
बन्दको अवधी बढ्दै गए कर्णालीका स्थानीय तहहरुले दैनिक ज्यालादारी गर्ने मजदुरहरुका लागि राहत प्याकेजका कार्यक्रम ल्याउने तयारी गरेका छन् ।
लकडाउनले भौतिक पूर्वाधार निमार्णका कामहरु ठप्प भएर मजदुरहरुको दैनिकीमा प्रभाव पर्न सक्ने भएकाले उनीहरुको लागि विभिन्न राहतका कार्यक्रम ल्याउने तयारी थालेका हुन ।
भौतीक पूर्वाधार विकास निमार्णका योजनामा विनियोजन गरिएको बजेटलाई रकामान्तर गरेर भएपनि नागरिकका लागि राहत प्याकेजका कार्यक्रम संचालन गर्ने स्थानीय सरकारहरुको भनाई छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले बन्द लम्बिदै गए दैनिक मजदुरी गरेर परिवार पालिरहेका श्रमिकलाई समस्या पर्न सक्ने भन्दै उनिहरुको लागि राहत प्याकेज ल्याउने उप–प्रमुख मोहनमाया ढकालले कर्णाली रैबारमार्फत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै सल्यानको मुसिकोट नागरपालिका पनि अहिले पालिका भित्र विभिन्न स्वरोजगारका कार्यमहरु सञ्चालन भइरहेको भन्दै अहिले नै राहत प्याकेज ल्याउने तयारी नभएको बताएको छ ।
यदी बन्द अवधी बढ्दै गएको खण्डमा भने राहतका कार्यक्रम ल्याउन सकिने नगर प्रमुख देविलाल गौतमले बताउनुभयो । यता सल्यानको शारदा नगरपालिले भने तत्काल राहतको जोहो गर्नुपर्ने आबश्यक नरहेको जनाएको छ ।
नगरप्रमुख सुरेश अधिकारीले पालिकामा तत्काल बजेट नरहेको भन्दै बजेट व्यवस्थापनको लागि केन्द्र सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो ।