वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको आईसुलेसन अस्पताल सञ्चालन गर्ने

पंखबहादुर शाही

सुर्खेत, १९ बैशाख  (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजन सहित आईसुलेसन अस्पताल सञ्चालन गर्ने भएको छ ।

तत्कालै २५ बेडको सेवा सुरु गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालका अनुसार कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजन सहितको आईसुलेसन अस्पतालको रुपमा सेवा सञ्चालन गर्न लागिएको हो । नगरपालिकाले नै निर्णय गरेर उक्त, कामको थालनि अघि बढाईएको हो ,’ढकालले भन्नुभयाे । तयारी अन्तिम चरणमा रहेकाले एकदुई दिनमै सेवा सुरु हुने ढकालले बताउनुभयाे । ‘यो सँग–सँगै ‘टेलिमेडीसिएन’ सेवा पनि दिने निर्णय भएको छ । यउटा सञ्चार ग्रूव जस्तो बनायर बिरामीहरको रिपोर्ट बुझ्ने, के–कस्तो छ अबस्थाका बारेमा जानकारी लिनका लागि ‘टेलिमेडीसिएन’ सेवा सञ्चालन गर्ने गृहकार्य पनि भईरहेको छ,’ढकालले भन्नुभयो । नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पताललाई कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरिनेछ । जस अनुसार डाक्टरहरुको परामर्श, सल्लाह पनि लिने उहाँले बताउनुभयाे। साथै दुईजना डाक्टरहरुको पनि व्यबस्थापन गरिएको छ । आईतबार बालरोग विशेषज्ञ डा. नवराज केसी, र प्रदेश अस्पतालमै कार्यरत डा. प्रदीप पौडेलसँग पनि छलफल गरिएको ढकालले बताउनुभयाे । साथै ढकालले कोरोना संक्रमण बढ्दै गएकोले सबैले सुरक्षाको विधिको पालना गरी रोगबाट सुरक्षित बन्न समेत आग्रह गर्नुभएकाे छ । साथै नगरभित्रका कुनै पनि व्यक्तिलाई समस्या परेको खण्डमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुहुन अनुरोध समेत गर्नुभयाे  । उहाँका अनुसार अस्पतालसँगै एम्बुलेन्स सेवाको पनि व्यवस्थापन गरिएको छ। कोरोनाका बिरामीका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको हो । यस्तै नगरपालिकाले हस्ताको दुईदिन सोमबार र शुक्रबार कोरोना परिक्षण समेत गर्ने गरेको छ। नगरपालिकामै यो सेवा केही दिन अघिदेखि सञ्चालनमा ल्याएको हो । ‘नागरिकको स्वाथ्य भन्दा ठुलो अरु हुन सक्दैन्,’ढकाल भन्नुहुन्छ ‘ हामी नागरिकको सेवामा हरपल हाजिर छौँ।’ गत बर्ष नै कोरोना स्थापना गरिएको कोरोना कोषमा जम्मा भएको ५ करोड रकम मध्ये केही खर्च हुन सकिरहेको थिएन्। हामी यो पटक त्यही रकम खर्च गर्छौँ,’ढकालले भन्नुभयाे।