गोविन्द खत्री
सुर्खेत १९ बैशाख (जागरण) ।
कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ ।
कोभिड–१९ लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिने भएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्नका लागि कर्णालीप्रदेश योजना आयोगले यही बैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । कोभिड –१९ को संक्रमण बृद्धि हुँदै गएका कारण लगानी सम्मेलन चालु आर्थिक बर्षमा नहुने निश्चित जस्तै भैसकेको आयोगका सदस्य योगन्द्र शाहीले बताउनुभयो । ‘हामीले मिति र स्थान निर्धार गरिनसकेकाले ठ्याक्कै स्थगित नै त भन्नु परेन’ उहाँले भन्नुभयो,‘कोरोनाका कारण केही समय रोकिने चाँही निश्चित भएको छ ।’
कर्णालीमा लगानी भित्र्याउनका लागि गतआर्थिक बर्षदेखि नै प्रदेश सरकारले लगानी सम्मेलनगर्ने योजना बनाएको भए पनि सम्मेलन आयोजना गर्न सेकेको छैन । गत पुस महिनामा बसेको योजना आयोगको बैठकले यही बैशाखमा सम्मेलन गर्ने निर्णय गर्दै त्यसको संयोजन गर्ने जिम्मेवारी सदस्य शाहीलाई नै दिएको थियो । ‘जेठसम्ममा भएपनि गर्नुपर्छ की भन्ने थियो’ सदस्य शाहीले भन्नुभयो, ‘कोभिडको संक्रमण बढीरहेको छ यस्तो अवस्थामा केही समस्य रोक्नुपर्छकी भन्नेमा पुगेका छौँ ।’ उहाँका अनुसार लगानीका लागि परियोजना बैंकको ड्राफ्ट तयारीको काम अन्तिम चरणमा पुगेको छ । यसबीचमा बाँकी तयारीका कामहरु पूरा गर्ने र स्थिति सामान्य भएमा आउँदो आर्थिक बर्षको साउन÷ भदौमा नै लगानी सम्मेलन गर्ने मनस्थितिमा आफूहरु रहेको शाहीले बताउनुभयो । ‘परियोजना बंैकको ड्राफ्ट तयारीको काम लगभग तयार भैसकेको छ’ उहाँले भन्नुभयो ‘बाँकी रहेका तयारीहरु यसबीचमा सक्छौँ अनि स्थिति सामान्य भए साउन भदौसम्ममा सम्मेलन गर्नेकी भन्ने छ ।’
यसबीचमा प्रदेश सरकार परिवर्तनको संघर्ष भएपछि लगानी सम्मेलन पनि केही प्रभावित भएको थियो । आयोगको अध्यक्ष स्वंयम मुख्यमन्त्री भएकाले प्रदेश सरकार परिवर्तनका लागि भएको संघर्षले सम्मेलनको अन्यौलता छाएको थियो । प्रदेशसभाबाट विश्वासको मत लिई मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले नै निरन्तरता पाएपछि भने उहाँले नै अगाडी सारेको लगानी सम्मेलनको योजना कार्यान्वयन हुने विश्वास गरिएको थियो । लगानी सम्मेलन नहुनुमा राजनीतिक कारण भने नरहेको आयोगका सदस्य शाहीको स्पस्टोयोक्ती छ । ‘राजनीतिक कारणले असर पारेको होइन किन भने पहिलेकै मुख्यमन्त्रीले निरन्तरता पाइसकेपछि राजनीतिक रुपमा सम्मेलन नगर्ने कुनै कुरा थिएन’ सदस्य शाही भन्नुभयो । लगानी सम्मेलन गर्न नसकेपनि भर्चुअल माध्यमबाट ‘प्रि–सम्मेलन’ गरिने शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि–सम्मेलनमा लगानीकर्ता, सरोकारवालाहरुलाई सहभागी बनाइ परियोजनाहरुको बारेमा जानकारी गराइनेछ भने सम्झौता भने सम्मेलनमै हुनेछ ।
विकासका हिसाबले पछाडी परेको कर्णालीलाई लगानीका लागि भने ‘भर्जिन ल्याण्ड’ का रुपमा परिभाषित गरिन्छ । कर्णालीमा लगानी गर्नेलाई प्रदेश सरकारले कर छुट दिने बताउँदै आएको भएपनि ठूला लगानीकर्ता भने हालसम्म आकर्षित हुन सकेका छैनन् ।