बालबालिकाप्रति सम्बेदनशिल बनौंः सरोकारवाला

टेकराज केसी ।
सुर्खेत, २१ बैशाख (जागरण) । कर्णालीका प्रदेशका सरोकारवालाहरुले विद्यालय बन्द रहेको समयमा बालबालिकामा विभिन्न समस्याहरु आउन सक्नेतर्फ सचेत हुन आग्रह गरेका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले अहिले विद्यालय बन्द रहेको अवस्थामा बालबालिका विभिन्न दुव्र्यवहारमा पर्न सक्ने भन्दै यसमा अविभावक सचेत हुनुपर्ने बताएका हुन् ।
कर्णालीमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले अहिलेको परिस्थितिमा बालबालिका अति जोखिममा पर्न सक्ने भएकाले अविभावक, शिक्षक र अन्य निकायले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले शैक्षिक सत्रको अन्तिममा विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा अन्यौलता सिर्जना भएको भन्दै बैकल्पिक माध्यमबाट भएपनि परिक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक उत्तम रिजालले परिक्षाको अन्तिममा विद्यालय बन्द हुँदा समस्या भएको बताउनुभयो ।
उहाँले अहिले शैक्षिक गतिविधिहरु भने आफुहरुले विभिन्न माध्यमबाट संचालन गरिरहेको भन्दै यसमा अविभावकको भुमिका पनि उत्तिकै हुनुपर्ने बताउनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ नेवारेमा रहेको अमरज्योती माध्यमिक विद्यालयका शिक्षक भुपेन्द्र विसीले सिकाई निरन्तरता भएपनि सबै पक्षले अविभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
स्थानीय तहका सरकारहरुले पनि अहिलेको अवस्थामा बालबालिकामा हुन सक्ने जोखिमका बारेमा सचेत रहनु अनुरोध गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बालबालिकाको शैक्षिक सवालमा आफुहरु संवेदनशिल रहेको र अभिभावकले पनि विशेष सचेतता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालयहरु बन्द रहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै नगरपालिका यसमा प्रतिवद्ध रहेको बताउनुभयो ।