भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किँदै

काठमाडौं, २१ बैशाख (जागरण) । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिनुभयो ।
आज संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यले बताउनुभयो । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसंगै रहुँ भन्ने जसलाई पनि लाग्ने भन्दै बाटोमै संक्रमण हुन सक्ने सम्भावना ध्यान दिन पनि भन्ने गरेको बताउनुभयो ।

आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको बताउनुभयो।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताउनुभयो ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताइन् । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उनको भनाइ छ ।