कर्णालीमा आधुनिक विमानस्थल बन्छः पर्यटन मन्त्री अधिकारी

सुर्खेत, २२ जेठ (जागरण) । पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले कर्णाली प्रदेशमा आधुनिक विमानस्थल निर्माणका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुर्खेत नागरिक उड्ययन कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश विमानस्थल विकास विस्तारका सम्भावना तथा चुनौति विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री अधिकारीले आधुनिक विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन पनि शुरु गरि केही दिन भित्रै प्रक्रिया अगाडि बढाईने जानकारी दिनुभयो । करिब ७० देखि एक सय सम्मको सिट क्षमता भएको विमान अवतरण हुन सक्ने विमानस्थलको खाँचो कर्णालमा छ, उहाँले भन्नुभयो,‘यसका लागि आजै स्थलगत अध्ययन हुन्छ र मन्त्रालयमा पुगेर यसबारे छलफल गरी हामी स्थान पनि टुंगो लगाउने विश्वास दिलाउँछु ।’ उहाँले थप्नुभयो,‘ठुलो विमान हाई पावर ईन्स्ट्रुमेन्ट भएको अनि नाईट लाईट भएको बिमान अवतरणका लागि कर्णालीमा एउटा आधुनिक विमानको खाँचो छ, यसका लागि हामी काम गर्छौँ ।’
अहिले संचालन भईरहेका भन्दा ठुला विमानस्थल कर्णालीमा निर्माण गर्न खोजिरहेको मन्त्री अधिकारीको भनाई छ । उहाँले सुर्खेत विमानस्थललाई बढाएर ठुला जहाज आउन नसक्ने भएकाले अर्को विमानस्थलको खोजी गर्नुपरेको पनि प्रस्ट पार्नुभयो । हामीले धेरै अध्ययन ग¥यौँ, उहाँले भन्नुभयो,‘सुर्खेतको विमानस्थललाई ठुलो बनाएपनि यहाँ ठुला जहाज ल्याण्ड हुन सक्दैनन् भन्ने अध्ययनले देखाईसक्यो त्यसैले अर्को स्थान खोज्नैपर्छ ।’
मन्त्री अधिकारीले कर्णाली प्रदेश सधैँ आफ्नो मन्त्रालयको पहिलो प्राथमिकतामा परेको पनि स्पष्ट पार्नुभयो । कर्णालीको विकासका लागि यहाँको प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरेर काम गर्ने विश्वास दिलाउनुभयो । कर्णाली अहिलेको गरिब भएपनि पछिको धनी प्रदेश हो, उहाँले भन्नुभयो,‘यहाँको हरेक क्षेत्रको विकासका लागि स्थानीय अनि प्रदेश सरकारसँग हाम्रो मन्त्रालय सहकार्य गरेर काम गर्छ ।’
सुर्खेतको कांक्रेविहार निर्माणको काम सम्पन्न गर्न पनि मन्त्रालय लागि परेको मन्त्री अधिकारीको भनाई छ । उहाँले बजेट भाषणमा कांक्रेविहार नभएपनि बजेटमा भएको प्रस्ट पार्दै उहाँले कांक्रेविहारको प्रगति एक वर्ष भित्र देखिने पनि ठोकुवा गर्नुभयो ।