कर्णालीका आठ जिल्लामा निषेधाज्ञा

सुर्खेत, २२ बैशाख (जागरण) ।
कर्णालीका दश मध्य आठ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्नका लागि जुम्ला र मुगु बाहेकका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । जुम्लामा पनि आज राती १२ बजेदेखि बैशाख मसान्तसम्म निषेधाज्ञा आदेश जारी गरिएकाे छ । संक्रमण नियन्त्रण बाहिर जाने संकेत देखिएपछि जिल्लाहरुमा एक पछि अर्काे गर्दै निषेधाज्ञा गर्न थालिएको छ । संक्रमणदर उच्च भएपछि सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोटमा निषेधाज्ञा आदेश लागू छ । मंगलबार राति १२ बजेदेखि हुम्ला र डोल्पामा पनि निषेध आदेश लागू गरिएकाे छ । दैलेख र हुम्लामा २१ गते राति १२ बजेदेखि २८ गते राति १२ बजे र डोल्पामा २१ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेध आदेश लागू गरिएको छ ।
गत बर्ष पहिलो चरणको कोरोना संक्रमणका बेला मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए । तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन् । प्रदेशमा संक्रमण फैलिएको दुई हप्तामै हिमाली जिल्लामा पनि संक्रमण फैलिएको छ । हाल मंगलबारसम्म कर्णाली प्रदेशमा २ हजार ४ सय ५ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । भने कोरोना संक्रमणबाट ६४ जनाको मृत्यु भैसकेको छ ।