सुर्खेत, २३ वैशाख (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा प्रतिकार्यको लागि भइरहेका प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गर्नुभएको छ ।
कर्णाली प्रदेशअन्तरगत जिल्लाहरुमा रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई आज (बिहिवार) टेलिफोन गरी कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गर्नुभएको हो ।
उहाँले संक्रमण फैलिन नदिनको लागि भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारिन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड १९ चेकजाँचको उपलव्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार, अस्पतालहरुमा अक्सिजनको अवस्थालगायतबारे कुराकानी गर्नुभएको छ ।
उहाले विश्वभर महामारीको रुप लिएको कोभिड १९ प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरुले देखाएको क्रियाशिलताको प्रशंसा गर्दै संक्रमणबाट आफू पनि जोगिन सचेत गराउनुभयो ।
यसैगरी उहाँले नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरु नहुने भएकाले संक्रमण फैलने नदिने र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिनुभएको छ ।