सुर्खेत, २२ जेठ (जागरण) । ठेकेदार कम्पनीको लापरवाहीका कारण सुर्खेतमा विभिन्न दश आयोजना अलपत्र परेको पाईएको छ । केन्द्र सरकारले काम नगर्ने ठेकेदारको सुची गृह मन्त्रालयमा पठाउन प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएसँगै सुर्खेतमा पनि दश आयोजना अलपत्र परेको पाईएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुर्खेतमा विभिन्न सडक र भवन निर्माणको काम अलपत्र परेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार अहिलेसम्म गुटु हेल्थ पोस्टको भवन, काफलकोट स्वास्थ्य चौकी भवन, कटकुवा स्वास्थ्य चौकी, छिन्चु स्वास्थ्य चौकी, कारागार भवन सुर्खेतको भवन निर्माण कार्य अलपत्र परेको जानकारी कार्यालसम्म आईपुगेको छ ।
यस्तै, चिंगाड खोला पुल, भुरीगाउँ–तेलपानी सडकखण्ड अन्तर्गतको पुल, गोदाम भवन, झिङ्नी खोलको पुल र साटाखानी स्वास्थ्य चौकी भवन निर्माणका काम ठेकेदार कम्पनीका कारण अलपत्र परेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो ।
सुर्खेतसहितकर्णाली प्रदेशका विभिन्न योजना अलपत्र छाडेका निर्माण व्यवसायीलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको छ ।