कालो बजारी नगर्न स्थानीय प्रशासनहरुको चेतावनी

सुर्खेत, २६ बैशाख (जागरण) । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन सक्ने भन्दै गरिएको निषेधाज्ञाको बेला हुनसक्ने कालोबजारी रोक्न कर्णाली प्रदेशका स्थानीय प्रशासनले सक्रियता जनाएका छन् ।
दैनिक उपभोग्य वस्तुमा हुने कालोबजारी रोक्न जिल्ला प्रशासन, स्थानीय तहका सरकार, उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएका हुन् ।
यस्तो अवस्थामा कालो बजारी गर्ने, नागरिकहरुलाई ठग्ने काम भए कारवाही हुने भन्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले अनुगमनलाई तिब्रता दिइएको कर्णाली रैबारलाई बताउनुभयो ।
जाजरकोटमा आजदेखि एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले पनि स्टक रहेको समानलाई पहिलाको खरिद मूल्यमा विक्रि वितरण गर्न सबै व्यापारीहरुलाई निर्देशन दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले निषेधाज्ञको बेला कालो बजारी हुनसक्ने भन्दै आफुहरुले सचेत बनाइरहेको र अनुगमनलाई समेत तिव्रता दिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले व्यापारीहरुले मुल्य वृद्धि गरी जनतालाई ठगि गरेको पाइएमा जानकारी दिनसमेत सार्वजनिक रुपमा आग्रह गरेको छ ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कालोबजारीका सन्दर्भमा आफुहरु चनाखो रहेको बताउनुभयो ।
…आवाज…
नागरिकहरुले भने बजारमा दैनिक उपभोग्य वस्तुहरुको मुल्यमा भारी वृद्धि भइरहेको गुनासो गर्ने गरेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालय, रुकुमपश्चिमले भने आफुहरुले नियमित रुपमा बजार अन्ुगमन गरिहरहेको र हालसम्म कालोबजारी भइरहेको अवस्था फेला नपरेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उद्योग वाणिज्य संघसँगको समन्वयमा मुल्यसुची र त्यसको कार्यान्वयनको अवस्था चेकजाँच गर्ने गरिएको बताउनुभयो ।