एक सय १२ जना स्वास्थ्यकर्मी करारमा भर्ना

सुर्खेत, २६ बैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले एक सय १२ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौँ तहका स्वास्थ्यकर्मी भर्ना गरेको हो ।
निर्देशनालयका अनुसार नियुक्त भएका स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याब टेक्निसियन १२, हेल्थ असिस्टेन १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज दुईजना छन् ।
करार सेवामा नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ ।
कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमण तीव्र दरमा बढेपछि कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीको चरम अभाव महसुस भएको छ ।
बिरामीको चाप थेग्न नसकेपछि करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रवीन खड्काले बताउनुभयो ।